बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही
काठमाडौं, ५ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा हिजो सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिनुभयो ।
मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गर्नुभयो । “शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन”, उहाँले भन्नुभयो, “शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।”