ठेकेदारको कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना समयमै पूरा भएनन्
काठमाडौं,१० असार । सार्वजनिक निर्माणमा संलग्न निर्माण व्यवसायीको क्षमताको अभाव तथा कमजोर कार्यसम्पादनका कारण पूर्वाधार आयोजना तोकिएको समयमा सम्पन्न हुन नसकेको पाइएको छ।
त्यस्तो प्रवृत्ति आमरूपमा विकास भएकाले तत्काल अन्त्य गरी पूर्वाधारको गुणस्तर कायम राख्दै लागत न्यूनीकरण गर्नेतर्फ सम्बद्ध निकायले विशेष ध्यान दिनुपर्नेमा एक अध्ययनले जोड दिएको छ।
नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रदेश नं १ को अर्ध वार्षिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार पूर्वाधार निर्माण तथा विकासको कार्यलाई निरन्तरता दिन छरिएर रहेका सम्बन्धित निकायबीच समन्वयको जरुरी रहेकामा जोड दिइएको छ।
सडक विभाग, खानेपानी तथा ढल निकास, दुरसञ्चार तथा विद्युत् प्राधिकरण आदिजस्ता संस्थाबीच समन्वय गर्ने अधिकार सम्पन्न स्थायी संयन्त्र निर्माण गर्न सरोकारवाला निकायलाई सहमत गराउने कार्य जरुरी रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ।