मुलुकभर अझै २० प्रतिशत रोपाइँ बाँकी
काठमाडौं, ११ साउन । साउन पहिलो हप्तासम्ममा मुलुकभर करिब ८० प्रतिशत खेतमा रोपाइ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
रोपाइ गतवर्षको तुलनामा करिब ८.८ प्रतिशतको हाराहारीमा कम भएको देखिन्छ । गत वर्ष २०७८ को साउन पहिलो हप्तासम्ममा ८८.८ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयले विशेष गरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको कारण धान रोपाइँमा कमी भएको जनाएको छ ।
हाल ती प्रदेशहरूमा मनसुन सक्रिय रहेको र रासायनिक मलको उपलब्धतामा पनि क्रमशः सुधार आएकोले श्रावण १५ सम्म सामान्य हिसाबले ती प्रदेशहरूमा रोपाइँ भई विगत वर्षहरूमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने प्रारम्भिक अनुमान रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिएका छन् ।