स्थानीय तह निर्वाचनका ७० प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण
काठमाडौं, ३१साउन । स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन् ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा (१) र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा (४) मा निर्वाचन खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भर्पाईसहित तोकिएको कार्यालयसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले हालसम्म विवरण प्राप्त नभएका उम्मेदवारहरु अधिक देखिएकाले त्यसबारे अध्ययन पूरा भएपछि आयोगले कारबाहीबारे चाँडै निर्णय गर्ने राससलाई बताउनुभयो । उहाँले ढिला गरी ुपेस हुन आएको खर्च विवरण पनि स्वीकार नगरिने स्पष्ट गर्नुभयो । आयोगले विजयी र पराजितमध्ये कति उम्मेदवारले खर्च विवरण बुझाए या नबुझाएको विवरणसमेत तयार गरिरहेको छ ।