गत आर्थिक वर्षमा १६ अर्ब १६ करोड बढीले विद्युत प्राधिकरण नाफामा
काठमाडौं, २ भदौ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/०७९ मा १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बढीले नाफा गरेको छ ।
बुधबार प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा गत आर्थिक वर्षको प्रतिवेदन पेश गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले १६ अर्ब १६ करोड रुपैयाँभन्दा बढी नाफा भएको बताएका छन् ।
विद्युत प्राधिकरणले विगत ३ वर्षदेखि विद्युत महसुल घटाउँदै गएर पनि १६ अर्ब बढी नाफा गर्न सक्नु सकारात्मक पक्ष रहेको उनले बताए । यो प्राधिकरणको स्थापनाकालदेखि हालसम्मको सबैभन्दा बढी नाफा हो ।
६ वर्ष पहिला ६२ प्रतिशत जनताले मात्रै ग्रीडको बिजुली बालेकोमा हाल ९३ प्रतिशत जनतामा ग्रीड बिजुलीको पहुँच पुगेको बताइएको छ ।
साथै ४२ जिल्ला पुर्ण विद्युतिकरण भैसकेको घिसिङले बताएका छन् । २ वर्ष भित्र सतप्रतिशत जनतामा विद्युतको पहुँच पुर्याउने सरकारको लक्ष्यअनुसार प्राधिकरणले काम गरिरहेको उनले बताएका छन् ।
यस्तै प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छन् । यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलब बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरेकी हुन् ।
प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिरकण पछि हटेको छ ।
सोही अवसरमा उत्कृष्ट काम गर्ने १५ जना व्यक्ति लाई नगद रकम सहित सम्मान गरिएको थियो भने उत्कृष्ट काम गर्ने १७ वटा कार्यालयलाई समेत सम्मान गरिएको थियो ।