११ प्रतिशतले बढ्यो चिया निर्यात
काठमाडौं, २३ भदौ । गत आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट नियाको निर्यात अघिल्ले आर्थिक वर्षको तुलनामा करिब ११ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा तीन अर्ब ६ करोड रुपैयाँभन्दा बढीको ९ हजार ५७० मट्रिक टन चिया निर्यात भएकोमा गत आर्थिक वर्षमा तीन अर्ब ४३ करोड रुपैयाँ बराबरको १२ हजार मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
गत आर्थिक वर्षमा ८ करोड ३६ लाख रुपैयाँको २० मेट्रिक टन चिया आयात भएको थियो ।
चिया नेपालको एउटा मुख्य निर्यात वस्तु हो । आव २०७६–७७ मा दुई अर्ब ७८ करोड रुपैयाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकोमा थियो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९–२०२० मा दुई करोड ४१ लाख १८ हजार किलोग्राम चिया उत्पादन भएको छ । जसमा एक करोड ४९ लाख ७७ हजार किलोग्राम सीटीसी चिया उत्पादन भयो भने ८२ लाख ५१ हजार किलोग्राम अर्थाेडक्स चिया उत्पादन भएको छ । सो अवधिमा नेपालमा सात लाख ४५ हजार किलोग्राम ग्रीन टी उत्पादन भएको छ ।