नेपाल व्यापार एकीकृत रणनीतिको मस्यौदा २०२२ तयार, निर्यातलाई जीडीपीको २० प्रतिशत पुर्याउने लक्ष्य

काठमाडौं, ३ कात्तिक । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा वस्तु तथा सेवाको निर्यात २० प्रतिशत पुर्याउने गरी नेपाल व्यापार एकीकृत रणनीतिको मस्यौदा २०२२ तयार गरिएको छ ।
सरोकारवालासँग छलफल तथा सुझावका लागि सार्वजनिक गरिएको मस्यौदामा रणनीति कार्यान्वयनमार्फत हालको ६.६१ प्रतिशतको अनुपातलाई २० प्रतिशत पु–याउने लक्ष्य राखिएको हो ।
मस्यौदा तयार गर्ने समितिको नेतृत्व गरेका पूर्वसचिव रामेश्वर खनालले रणनीति अख्तियार गर्दा वार्षिक १८ खर्ब रुपैयाँसम्म वस्तु तथा सेवाको निर्यात गर्न सक्ने गरी लक्ष्य तय गरिएको जानकारी दिए ।
मस्यौदामा कुल अर्थतन्त्रसँग व्यापारको अनुपातको लक्ष्य पनि बढाइएको छ । जसअनुसार रणनीति कार्यान्वयन हुँदा हालको ४८.१ प्रतिशतको अनुपात ५५ प्रतिशत पुग्ने लक्ष्य राखिएको छ ।
मस्यौदामा तयार गरिएका रणनीति र लक्ष्यलाई खासगरी १५औँ पञ्चवर्षीय योजनाले लिएका लक्ष्यसँग तालमेल हुने गरी निर्धारण गरिएको छ । जसअनुसार बाह्य क्षेत्रको स्थायित्व, निर्यात वृद्धिका लागि समष्टिगत आर्थिक नीतिको सुधार, सङ्घीय संरचनाको उपयोगमार्फत व्यापार वृद्धि, विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा विद्यमान व्यापार अवसरमा पर्ने असर तथा चुनौती र सेवा क्षेत्रको निर्यात वृद्धिजस्ता विषयलाई मस्यौदा निर्माणको आधार बनाइएको छ ।
त्यस्तै सूचना प्रविधिको क्षेत्रले सिर्जना गरेको सेवा निर्यातको अवसरलाई पनि मस्यौदाले पहिचान गरेको छ । रणनीतिले लिएका लक्ष्य तथा मान्यता हासिल गर्न शीर्षकगत बजेट विनियोजनको प्रस्ताव पनि मस्यौदामा गरिएको छ ।
निर्यात वृद्धिका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छुट्टै निर्यात सहजीकरण एकाइको प्रस्ताव पनि मस्यौदाले गरेको छ ।