आईएमईसहित यी हुन् सबैभन्दा बढी कर तिर्ने कम्पनीहरु
काठमाडौं, ७ मंसिर । अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिहरु सम्मानित भएका छन् । कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा संस्था तथा व्यक्तिलाई सम्मान गरेको हो ।
विभागका अनुसार अघिल्लो वर्ष सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ। यस्तै रेमिट्यान्सतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीमा आईएमई रमेटि रहेको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई विभागले सम्मान गरेको छ । आयकरतर्फ नेपाल दूरसंचार कम्पनी सबैभन्दा धेरै तिर्ने करदाता बनेको छ। सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ।
सो आर्थिक वर्षमा निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था तथा बैंकतर्फ नबिल बैंक धेरै कर तिर्ने बनेका छन्। यसैगरी बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्।
वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत, मध्यमस्तरीय करदाताका रुपमा नेपाल स्टक एक्सचेन्जले पनि यो सम्मान पाएका छन्।
व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा विजयकुमार शाह रहेका छन्। शाह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन् ।