मनकामना केबुलकार २५ औं वर्षमा प्रवेश
काठमाडौं, ७ मंसिर । नेपालकै पहिलो मनकामना केबुलकारको सञ्चालनको २४ औं वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरेको छ ।
२०५५ सालमा स्थापना भएको केबुलकारले मंसीर ८ गते देखि केबुलकारको नियमित सञ्चालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको बताइएको छ । केबुलकारको नियमित सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवसायहरुमा उल्लेख्य वृद्धि भएको केबुलकारका सञ्चालक राजेश बावु श्रेष्ठले बताए ।
चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको ११ प्रतिशत रकम व्यावसायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक मठ मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिदै आएको छ ।
साथै मनकामना केबुलकार विद्यमान एनालग प्रविधिबाट डोप्पेलमेयरको डी कनेक्ट डिजीटल प्रविधिमा स्तरोन्नति हुँदै गरेको बताइएको छ । प्रथम चरणको कार्य सम्पन्न भई २५ औ वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजीटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजीटल केबुलकार प्रणाली हुने बताइएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार प्रा.लि. ले मनकामनामा करीब ४८ करोड लागतमा ४० कोठायुक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरिने समेत जानकारी गराएको छ ।