Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

अग्रवालको नेतृत्वमा फर्निचर तथा फर्निसिङ संघको कार्यसमिति चयन

काठमाडाैं, १० पुस । नेपाल फर्निचर तथा फर्निसिङ संघले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । राजधानीमा शनिबार भएको संघको २३औं साधारणसभा तथा अधिवेशनले दिनेश अग्रवालको अध्यक्षतामा दुईवर्षे कार्यकालका लागि १७ जना सर्वसम्मत चयन भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा मनीष अग्रवाल, प्रथम उपाध्यक्षमा अरुणकुमार चौधरी, द्वितीय उपाध्यक्षमा अर्जुन घिमिरे र महासचिवमा सञ्जय लामा निर्विरोध भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा रमिता कसजू श्रेष्ठ, सचिवमा केदारनाथ बस्ताकोटी र डमरुबल्लभ पराजुली चयन भए । संघको सदस्यमा दिलविक्रम श्रेष्ठ, भोलामान योञ्जन, ऋषिकिशोर अग्रवाल, सम्यकमान सिंह, मुकेश अग्रवाल, गीता अच्छामी, रन्जु श्रेष्ठ, निकुञ्ज अग्रवाल र टेकबहादुर कार्की निर्विरोध चुनिए ।

निवर्तमान अध्यक्ष शुभेन्द्र जोशी रहेको कार्यसमितिले थप तीन सदस्य मनोनयन गरी २१ सदस्यीय कार्यसमितिलाई पूर्णता दिनेछ ।

संघको साधारणसभामा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले घर बहालका सन्दर्भमा व्यापक गुनासा आएकाले घरबेटी र बहालमा बस्नेलाई सहज हुने किसिमको कानुनी प्रावधान गर्न लागिएको जानकारी दिइन् । कार्यक्रमका वक्ताहरुले उपमेयर डंगोललाई उपत्यकामा मालवस्तु ढुवानीमा गरिएको कडाइले फर्निचरका उत्पादन ओसारपसारमा समस्या भएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

संघका निवर्तमान अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर व्यवसायीलाई काठ कटानीको टेन्डरमा सहभागी हुनबाट वञ्चित गराइएकोतर्फ ध्यानाकर्षण गराए । संघका नवनिर्वाचित अध्यक्ष दिनेश अग्रवालले उच्च विन्दुमा पुगेको बैंक ब्याजदरका कारण फर्निचर व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए । विद्यमान कानुन समयसापेक्ष रुपमा संशोधन नहुँदा फर्निचर व्यवसाय अघि बढाउन असहज हुनुका साथै वन पैदावारको उचित सदुपयोग हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष राजेश अग्रवालसहित संघलाई स्थापित गर्न योगदान पुर्याउनेलाई सम्मान गरिएको थियो । संघमा २०० आजीवन र ४०० साधारण सदस्य गरी ६०० फर्निचर व्यवसायी आबद्ध छन् ।

देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ । वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको अनौपचारिक तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x