भारतले बथनाह-कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने
काठमाडौं, ११ पुस । भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।
कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता चित्रकारले बताए । बाँकी खण्डमा भने जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन । “कटहरी क्षेत्रमा जग्गा विवादको समस्या अझै पनि छ”, उनले भने, ‘सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।’
भारतको बथनाहदेखि नेपालको कटहरीसम्म कुल १८ दशमलव छ किलोमिटर छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव छ किमी लम्बाइ छ । जसमध्येको आठ किलोमिटर खण्डमा निर्माण पूरा भएको हो ।
सन् २०१० मा राष्ट्रपति रामवरण यादव भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।
भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि बथनाह–कटहरी र जयनगर–कुर्था अन्तर्गत रेलमार्ग निर्माण भएको थियो । जयनगर–कुर्था खण्डमा रेल सञ्चालन भइसकेको छ ।
त्यसबाहेकका न्यु जलपाइगुडी–काँडडभिट्टा, नौतनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज क्षेत्रमा भने निर्माण सुरु हुन सकेको छैन । यी दुई खण्डमा निर्माण सकिएपछि बाँकी तीन ठाउँमा पनि निर्माण अघि बढ्ने प्रवक्ता चित्रकारको भनाइ छ ।