चार निर्माण कम्पनी कालोसूचीमा, एक वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडाैं, २३ असार । सार्वजनिक खरिद अनुगमन कार्यालयले चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयको असार २२ गतेको निर्णयअनुसार ग्रिन लिफ प्रालि (काठमाडौं), शिवम् कन्स्ट्रक्सन (जनकपुर), डीजी इगल कन्स्ट्रक्सन एण्ड बिल्डर्स प्रालि (काठमाडौं) र थोम कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि (सुनसरी) कालोसूचीमा परेका हुन् ।
यो निर्णयसँगै यी कम्पनीहरूले आज (असार २३ गते) देखि लागू हुने गरी एक वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् । सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता रोक्न र पारदर्शिता कायम गर्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले यस्ता कदम चाल्दै आएको छ ।