Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

म्याग्दीमा ५४ मेगावाट विद्युत उत्पादन हुँदै

म्याग्दीमा ५४ मेगावाट विद्युत उत्पादन हुँदै

म्याग्दी, २५ पुस । हिमाली जिल्ला म्याग्दीमा निकट भविष्यमा नै ५४ मेगावाट विद्युत उत्पादन गरि केन्द्रिय प्रशारण लाइनबाट वितरण गरिने भएको छ।
हाइड्रो डिष्ट्रिकको रुपमा चिनिएको म्याग्दीमा संचालित १४० मेगावाट भन्दा बढीका १४वटा विभिन्न जलविद्युत आयोजनाहरुमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

त्यसैगरी रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले पनि बल्ल गति लिएको छ ।

आयोजना निर्माणका लागि भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । कूल ४५ महिनाको ठेक्का अवधिको म्याद सकिएपछि साढे दुई वर्ष म्याद थपिए पछि बल्ल आयोजनाले गति लिन थालेको हो ।

आयोजनाको अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाको सुरुङ, बाँधस्थल र विद्युतगृह निर्माण एकसाथ अघि बढेको छ ।
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको ६ हजार २७० मिटर लामो सुरुङ मध्य तीनहजार सात सय मिटर सुरुङ निर्माण भइसकेको आयोजनाले जनाएको छ ।

उता घारखोला जलविद्युत आयोजना आगामी वैशाखदेखि व्यावसायिक उत्पादन थाल्ने तयारीका साथ आयोजनाको निर्माणलाई यतिखेर तीव्रता दिइएको हो । आयोजनाको सिभिल र इलेक्ट्रोमेकानिकल तर्फका कामहरू अन्तिम चरणमा पुगेका छन् ।
१५ महिना अघि ३ हजार ५ मिटर सुरुङ मार्गको ब्रेक थ्रु भएको आयोजनाको सुरुङ भित्र ढलानको काम सकेर पाइप राख्ने काम थालिएको छ । आयोजनाले पोखरेबगरमा निर्माण गर्न लागेको विद्युतगृहको संरचना निर्माण सकेर अन्तिम फिनिसिङको काम भइरहेको छ ।

अन्नपूर्ण गाउँपालिका–५ सिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । आयोजनाले हेडबक्सका संरचनाहरूमा पानी भरेर परीक्षण गर्ने काम सकिएको इन्जिनियर बज्राचार्यलेले बताए । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर तयार पारेको जग्गामा विद्युत् गृह निर्माण गरिएको छ । अमिलाकाफलमा रहेको आउट लेटदेखि विद्युतगृहसम्म १२ सय २० मिटर पेनस्टक पाइप जडान सकिएको छ ।

पोखरेबगरदेखि २२० केभिए क्षमताको दाना सब स्टेसनसम्म आठ किलोमिटर ३३ केभिएको डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । आयोजना २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु भएको थियो । दुई अर्ब ४२ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैङ्कको नेतृत्वमा एनआइसी एसिया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

त्यस्तै रघुगंगा आयोजनाको बाँधस्थल रघुगंगा ४ दग्नाम र वडा नम्बर ५ झिँको सिमाना बुग्लमा अर्धजलाशययुक्त बाँधको संरचनाका लागि यतिखेर फाउन्डेसन (जग) खन्ने काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर बिष्टले जानकारी दिए । बर्खायाममा पनि बाँधस्थलमा निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक संरचना निर्माण गर्न लागिएको आयोजनाका प्रोजेक्ट म्यानेजर बिष्टले बताए । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम एकैसाथ गरिएको छ।

आयोजनाका प्रोजेक्ट म्यानेजर विष्टले दिएको जानकारी अनुसार तिल्केनीचौरमा विद्युतगृहको भवन निर्माणसँगै उपकरण जडानको तयारी थालिएको छ। २०२३ को अगस्टसम्म आयोजना निर्माण सक्ने गरी आयोजनाका सबै पक्षहरुबाट कामलाई तीव्रता दिइएको उनको भनाइ छ । एक वर्षअघि सकिएको आयोजना निर्माणको म्याद कोरोना महामारी, बाढी पहिरोलगायतका कारण थप दुई वर्ष म्याद थपिएको आयोजनाले जनाएको छ ।

सुरुमा ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको छ । यसअघि आयोजना निर्माणको ठेक्का लिएको भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडसँग २०७५ मा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आईभीआरसीएलले काम गर्न नसकेपछि चार वर्षमा १० प्रतिशत निर्माण गरेर ठेक्का छाडेर भागेको थियो। नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानी हुने गरी २०७३ रघुगंगा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अगाडि बढाइएको हो।
२०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । बुग्लस्थित अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x