Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार शुरु

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार शुरु

काठमाडौं, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् ।

दुई बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् । यी दुई बैंक १ बराबर १ शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जरसम्बन्धी प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।

नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुवै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै यी बैंकले एकीकृत कारोबार शुरु गरेका हुन् । मर्जरपश्चात् बैंकको केन्द्रीय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने जानकारी बैंकहरूले दिएका छन् ।

बैंक अफ काठमाण्डूले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाटै पारित गरिसकेको छ ।

बैंकले चुक्तापूँजी रू। १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । त्यस्तै ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत सोही दिनको वार्षिक साधारण सभामार्फत पारित गरेको छ ।

यस वर्ष ग्लोबल आइएमई बैंकले चुक्तापूँजी रू। २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजारको आधारमा कूल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यी दुई बैंकहरूका अनुसार मर्जरपछि कूल सम्पत्ति रू। ५ खर्ब ५ अर्बभन्दा बढी, कूल निक्षेप रू। ४ खर्ब १२ अर्बभन्दा बढी र कूल ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ । देशको ७७ जिल्लासँगै विदेशमा समेत गरेर मर्जरपछि ११ सय सेवाकेन्द्रबाट बैंकले सेवा प्रदान गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x