पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि एनएचपीसीसँग सम्झौता
काठमाडाैं, ५ माघ । नेपाल सरकार, लगानी बाेर्ड र एनएचपिसी लिमिटेडबीच पश्चिम सेती जलविद्युत परियाेजना र सेति नदी ६ जलविद्युत परियाेजना विकासका लागि समझदारी पत्रमा हस्ताक्षर भएकाेमा सुदूरपश्चिम प्रदेश सरकारले खुशी व्यक्त गरेकाे छ ।
सुदूरपश्चिम सरकारले यस परियोजना कार्यान्वयन हुँदा विकासका दृष्टिले पिछडिएको सुदूरपश्चिम प्रदेश आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा प्रवेश गर्नुका साथै नेपालमा उत्पादित विद्युत निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण गर्ने मार्ग प्रशस्त हुने विश्वास लिएकाे छ । साथै उक्त आयोजनाको विकासका लागि आवश्यक सहयोग, समन्वय र साझेदारीका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएकाे छ ।
राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको यस बहुप्रतिक्षित आयोजनाको सफल कार्यान्वयनमा साथ र सहयोग हुनुपर्नेमा कतिपय पक्षबाट यस आयोजनाको प्रतिकूल हुने गरी व्यक्त विचार र क्रियाकलाप प्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
सुदूरपश्चिम प्रदेशका नागरिक र मुलुकको समृद्धिसँग जोडिएको यस महत्वपूर्ण परियोजना कार्यान्वयनमा आ-आफ्ना क्षेत्रबाट सहयोगका लागि अपिल गरेकाे छ भने समझदारीपत्र अनुसार परियोजना विकास र शीघ्र कार्यान्वयनको लागि नेपाल सरकारसँग अनुरोध गरेकाे छ ।