सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाए: राजेन्द्र मल्ल
काठमाडौं, १२ माघ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेकाे बताए । नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसकाे अवसर पारेर बुधबार चेम्बरमा आयोजित अन्तरक्रियामा अध्यक्ष मल्लले सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताएका हुन् । भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा पनि अध्यक्ष मल्लले जोड दिए।
‘बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्छ र करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्छ।’ उनले भने, ‘भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्छ त्यसैले भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउनसक्छ ।’
यस्तै अर्थसचिव रायले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताए । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्नुपर्ने रायले बताए । भन्सार सुधारको आवश्यक्ता आफुलाई पनि महसुस भएको रायको भनाई छ ।
भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको बताए । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढाको भनाई छ ।
चेम्बरले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थ सचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरेका हुन् ।