४.२ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप
काठमाडौं, २६ माघ । चालू आर्थिक वर्षको ६ महीनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रू. २१५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु. १७९ अर्ब ७ करोड (३.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशतले बढेको छ ।
पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३०.३ प्रतिशत र ५४.४ प्रतिशत रहेको थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३९.२ प्रतिशत रहेको थियो ।