हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थाल्याे

मकवानपुर, १२ फागुन । हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि आठ हजार मेट्रिक टन कोइला आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार ६०० मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ ।
उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार ६०० मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चापदार्थ पुग्ने जानकारी दिए ।
बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इन्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए । रासस