बैंक तथा वित्तीय संस्थामाथि भइरहेका अवाञ्छित गतिविधि रोक्न सरकारसँग सीबीफीनको माग
काठमाडौं, २४ फागुन । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले बैंकको ब्याजदरको विषयलाई लिएर बैंक तथा वित्तीय संस्थामाथि भइरहेका अवाञ्छित गतिविधि रोक्न सरकारसँग माग गरेको छ । ब्याजदरको विषयलाई लिएर बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि नियोजित ढंगले आक्रमण तथा लुटपाट हुनु दुःखद् भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्न सीबीफीनले माग गरेको छ ।
सीबीफीनले मंगलबार विज्ञप्ति जारी गर्दै ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, सावाँ समेत नतिर्ने धम्कीसहित कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको भन्दै सरकारसँग कारबाहीको माग गरेको हो ।
देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालन हुने अवस्थाको सृजना गर्न/गराउन सीबीफीनसले सबै पक्षसँग अपिल समेत गरेको छ ।