ई–सिम प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघ्याे
काठमाडाैं, २५ फागुन । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि सुरु भएको ई–सिम वितरण हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिनुभयो ।
नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरे पछि गत असोज ४ देखि भने नक्साल, चावहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु, छाउनी र पुलचोक ग्राहक सेवा केन्द्रबाट वितरण सुरु गरेको थियो । साथै मङ्सिर ८ देखि भने देशभर ई–सिम उपलब्ध गराइएको हो ।
“नेपाल टेलिकमका पुराना ग्राहकले ई-सिम लिन चाहेमा निःशुल्क प्राप्त गर्न सक्छन् । पोस्पेडको नयाँ ई-सिम लिन चाहनेले अहिले बिक्री भइरहेकै मूल्यमा लिन सक्छन्”, प्रवक्ता अधिकारीले भन्नुभयो, “ई-सिममा ग्राहकले आफ्नो उपकरणअनुसार बढीमा २० वटासम्म नेटर्वक अर्को मोबाइल सेवा प्रदायको नेटवर्कमा जोड्न सक्छन् ।” तर एकपटक भने एउटा नेटर्वकमा जोड्न सकिने उहाँको भनाइ छ ।
के हो ई-सिम ?
ई-सिम इलेक्ट्रिक सिम हो । जुन मोबाइल डिभाइस तथा डिजिटल डिभाइसमै इम्बेड गर्न सकिन्छ । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिनयोग्य विभिन्न प्रकारका डिभाइसमा पनि प्रयोग गर्न सकिन्छ । ई–सिम उपलब्ध भएपछि भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता रहँदैन ।
ई-सिम प्रयोग गर्न मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ ।
सिमकार्डमा प्रयोग हुने स्टोरेज, मेमोरी मोबाइल डिभाइसमा हुन्छ । ग्राहककर्ताले प्रयोग गर्ने मोबाइलमा भएको विशेषताअनुसार र ग्राहकले लिन चाहने सेवासँग ई–सिम जोडिन्छ । ई–सिम इम्बेड हुनाले सिमकार्डजस्तो हराउने, भाँचिने हुँदैन ।
यस्तो सुविधा यदि कुनै व्यक्ति विदेशमा गएको खण्डमा विदेशको नेटर्वक सेवा लिएर पुरानो नेटर्वक पनि राख्न सकिन्छ । त्यसलाई मोबाइलबाट हटाउन वा सिम निकाल्नुपर्ने झन्झट हुँदैन । विदेशमा उतैको ई–सिम लिएर सहजै विदेशी नेटवर्कसँग जोडिन सकिन्छ ।
सिमकार्ड प्रयोगमा रहँदा मोबाइल हराएको खण्डमा पुनः पहिले लिएको सिमको प्रक्रियाअनुसार प्राप्त गर्न सकिन्छ भने ई–सिम प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै मोबाइल हराएको खण्डमा हालसम्म दुई÷तीन पटकसम्म क्युआर स्क्यान गरी सोही सिम लिन सकिन्छ ।
जुन स्कानर ग्राहकले ई–सिम लिँदा नै प्राप्त गर्ने व्यवस्था हुन्छ । जसको सुरक्षा ग्राहक स्वंयमले नै गर्नुपर्छ । ई–सिम सपोर्ट गर्ने जुनसुकै ग्राहकले ई–सिम प्राप्त गर्न सक्ने व्यवस्था छ । सिमकार्डको प्राप्तिका लागि चाहिने कागजात र शुल्क ई–सिम प्राप्त गर्नका लागि पनि एउटै व्यवस्था छ । सिमकार्डमा भएको सबै सेवा ई–सिममा पनि रहेन र ई–सिममा थप सुविधा रहन्छ ।
ई-सिममार्फत एउटा फोनबाट अर्को फोनबाट डाटा सार्न, ई–सिममा उपलब्ध डाटालाई आवश्यकता अनुसार परिवर्तन गर्न समेत सकिन्छ । मोबाइलले ई–सिम सपोर्ट गर्छ भने जुन अपरेटरको सेवा लिन मन छ ग्राहककोमा आफ्नो केवाईसी अद्यावधिक गराएर सिम प्रोफाइल अपडेट गराए मात्र पुग्ने टेलिकमले जनाएको छ ।
विश्वभर सूचना प्रविधिले फड्को मारेको परिवेशमा नेपालमा पनि ई–सिमको माग पनि बढ्दै गएको छ । नयाँ प्रविधिको विकाससँगै भविष्यमा ई–सिमको माग बढ्नसक्ने सम्भावना रहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।