अर्थतन्त्र मन्दीमा जानबाट रोक्न सरकारलाई महासंघको आग्रह
काठमाडौं, २२ वैशाख । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले अर्थतन्त्र मन्दीतर्फ जाने संकेत गरेकाले यथाशीघ्र सुधारको पहल थाल्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आग्रह गरेको छ । आर्थिक अवस्था थप जटिल बन्न नदिन सरकार र नेपाल राष्ट्र बैंकलाई महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
राष्ट्रिय तथ्यांक कार्यालयले यस वर्ष नेपालको आर्थिक वृद्धि १ दशमलव ८६ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । यससँगै पछिल्ला तीन त्रैमासमा अर्थतन्त्र ऋणात्मक रहेको तथ्यांकले देखाएको छ ।
‘पछिल्लो तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिबिम्बित गरेको छ । उत्पादनमूलक उद्योग, निर्माण र व्यापारको वृद्धिदर ऋणात्मक हुनु निजीक्षेत्र संकुचित हुँदै गएको संकेत हो,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल उद्योग वाणिज्य महासंघले एक वर्षदेखि अन्तरराष्ट्रिय बजारमा बढेको मूल्य र मुलुकभित्र भएका नीतिगत परिवर्तनका कारण अर्थतन्त्र मन्दीमा जानेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ । तर सम्बन्धित निकायबाट पहल नहुँदा अर्थतन्त्रमा चाप परेकोतर्फ महासंघ गम्भीर ध्यानाकर्षण गराउँछ ।’
अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउन बजारमा माग बढाउनुपर्नेमा महासंघले जोड दिएको छ । उद्यमी व्यवसायीले काम गर्न नपाउँदा राजस्व पनि करीब १६ प्रतिशतले ऋणात्मक रहेको भन्दै महासंघले बजारमा माग बढाउन सरकारले अनावश्यक खर्च कटौती गरी पूँजीगत खर्च बढाउनुपर्ने औंल्याएको छ ।
यसैगरी निजीक्षेत्रको लगानी विस्तार गर्न तत्काल ब्याजदर कम गर्ने उपाय केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने महासंघको ठहर छ । केन्द्रीय बैंकले मुख्यतया नीतिगत दर, बैंक दर, अनिवार्य नगद अनुपात घटाउने लगायत आवश्यक उपाय अवलम्बन गरी ब्याजदर घटाउन पहल गर्नुपर्ने महासंघले सुझाएको छ ।
यसैगरी पुराना ऋणीले साँवाब्याज भुक्तानी गर्न नसक्दा बैंकहरूको खराब कर्जा समेत करीब ४ प्रतिशत पुगिसकेको भन्दै महासंघले कर्जाको पुनस्संरचना एवं पुनर्तालिकीकरणको सुविधा दिन माग गरेको छ ।
९ महीनायता लगातार ७ प्रतिशतभन्दा बढी मूल्य वृद्धिदर रहँदै आएकाले आम उपभोक्ताको क्रयशक्ति क्रमशस् घटिरहेको महासंघले बताएको छ । निजीक्षेत्रले निर्बाध काम गर्न नपाउँदा सरकार र आम उपभोक्तासमेत प्रभावित भइरहेकाले तत्काल सुधारको कार्य नथाले अर्थतन्त्रको मन्दी लम्बिँदै जानेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ ।