अर्थतन्त्र सुधारको नयाँ अध्याय प्रारम्भ गर्न आवस्यक छ : अर्थमन्त्री डा. महत
काठमाडाैं, २७ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय प्रारम्भ गर्नु पर्ने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासघंले काठमाडौँमा आयोजना गरेको प्रि–बजेट छलफलमा अर्थमन्त्री महतले नीजि क्षेत्रसंगको सहकार्यमा मुलुकको अर्थतन्त्र सुधारको नयाँ अध्याय सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।
उनले सरकारले अनावश्यक खर्च कम गर्ने र पूँजिगत खर्चलाई बढाउन सरकारले पहल गरीरहेकाे बताए । मौद्रिक नीतिमार्फत उच्च व्याजदरलाई नियन्त्रण गर्दै अर्थतन्त्रलाई चलायमान गर्ने तयारी भइरहेको उनकाे भनाइ छ ।
यस्तै प्रि–बजेट छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफुले कार्यभार सम्हाल्दा प्रस्तुत गरेका मुख्य ५ बुँदालाई बजेटले सम्बाेधन गर्नुपर्ने बताए । महासङ्घका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै अध्यक्ष ढकालले निजी क्षेत्रको नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम अगाडि बढाउन सुझाव दिँदै स्वदेशी तथा विदेशी लगानीलाई बढाउन जरुरी रहेको धारणा समेत व्यक्त गरे ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्री र गभर्नरको कुराले व्यवसायी त्रासमा रहेको बताएका छन् । अर्थमन्त्रीले केही दिनअघि फिस्कल पोलेसी टाइट भएको भन्दै मौद्रिक नीतिबाट व्यवसायीका समस्यको समाधान खोज्ने बताएसँगै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ठूलो भार बोक्न नसक्ने र जबर्जस्ती बोकाए दुर्घटना हुने बताएका थिए । उक्त भनाइ लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ती कुराले व्यवसायी त्रासमा रहेकाे बताएका हुन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बजेटले उत्पादन र रोजगारी सृजना गर्नमा जोड दिनुपर्ने धारणा समेत व्यक्त गरे ।