त्रिभुवन विमानस्थलको भन्सार प्रमुखमा पाण्डे
काठमाडौं, १० साउन । अर्थ मन्त्रालयले एक क्विन्टल सुन तस्करी प्रकरणपछि सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ ।
पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको स्राेतले जनाएकाे छ । प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उनी विदामा रहेका थिए । उनी २ महिना छुट्टीमा थिए ।
पोखरेल विदामा रहेको बेला २ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । १० पुस, २०७९ मा विद्युतीय चुरोट (भेप) मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरु भएपछि उनी बिदामा बसेका थिए ।