चार वाणिज्य संघको माग : एकल अंकको ब्याजदर कायम गरियोस
विराटनगर,१२ साउन। देशका प्रमुख नाका क्षेत्रमा अवस्थित उद्योग वाणिज्य संघहरूले नेपाल राष्ट्र बैंकद्वारा हालै जारी मौद्रिक नीति, भन्सार जाँच पास र पैठारी हुने मालवस्तुको लेबलिङको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीले सरकार र राष्ट्र बैंकलाई सुझाव दिएका हुन ।
मोरङ व्यापार संघको सभाकक्षमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी संघहरूले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९को संशोधन, व्याजदर न्यूनीकरण, भन्सार जाँचपास र पैठारी हुने मालवस्तुको लेबलिङ लगायतका विषयहरूमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
समस्या बावजुद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै आएकोमा विभिन्न सरकारी निकायहरूबाट नियन्त्रणात्मक गतिविधिका नाममा भइरहेको अनपेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किदै गइरहेको ती संघको ठहर छ । यसको पछिल्लो संस्करणको रूपमा लेबलिङ सम्बन्धमा भन्सार विभागद्वारा जारी सूचनाले थप अन्योल सिर्जना गरेको जनाइएको छ ।