हवाई सेवामा भ्याटविरूद्ध रिट
काठमाडौं, १२ साउन । हवाई सेवामा मूल्य अभिवृद्धिकर (भ्याट) लगाउन नहुने माग सरकारले नसुनेपछि व्यवसायीले सोविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीवार भ्याटको व्यवस्था खारेज गर्न माग गर्दै रिट दायर गरेको हो ।
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ बजेटमार्फत हवाई सेवामा भ्याट लगाएको छ । उक्त प्रावधान सच्याउन सरकारसँग माग गरेकामा कुनै सुनुवाइ नभएको नाट्टाका अध्यक्ष रमेश थापाले बताए । उनका अनुसार पूर्वअध्यक्ष परिषद्, नाट्टा सदस्य, कानून व्यवसायी, कर परामर्शदाता र नाट्टा बोर्डको निर्णयले अदालत गुहारिएको हो ।
नाट्टाले सरकार र निजीक्षेत्रका व्यवसायीको सहकार्यले पर्यटन उद्योगमा दिगो विकास हुने भन्दै छलफल र सहकार्यका लागि तयार भएको उल्लेख गरेको छ । यस्तै सरकारसँग समन्वय गर्दा पनि सुनुवाइ नभएपछि भ्याटसम्बन्धी अन्योल कायम रहेकोले न्यायालय पुगेको पर्यटन व्यवसायीले बताए ।