पूर्वी तराईमा जुट उत्पादन बढ्यो, बढेन मूल्य
मोरङ, १४ भदौ । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने ह्रास आएको छ । आर्थिक वर्ष (आव) २०७८÷७९ मा मोरङमा ७ हजार ३५१ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो । आव २०७९÷७० मा ७ हजार ४०९ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको थियो ।
विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेब सिंहले बताए । मोरङमा विगतका वर्षमा प्रतिहेक्टर १ दशमलव ४५ मेट्रिक टन जुट उत्पादन भएको तथ्यांक छ ।
यस वर्ष उत्पादन बढेर प्रति हेक्टर १ दशमलव ५० मेट्रिक टन पुग्ने प्रमुख सिंह बताउँछन् । आव २०७८÷७९ मा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार रुपैयाँ थियो । गत आवमा जुटको मूल्य प्रतिक्विन्टल ९ हजार रुपैयाँ थियो भने यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल ८ हजार ३ सय रुपैयाँ पुगेको ज्ञान केन्द्रले बताएको छ ।
कोशी प्रदेशमा ६ हजार ९ सय ६२ हेक्टर जमीनमा जुटखेती गरिन्छ । गतवर्ष उक्त जमीनमा ९ हजार ९१५ दशमलव ५० मेट्रिक टन जुट उत्पादन भएको प्रमुख सिंहले बताए । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटको खेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रंगेली नगरपालिकामा जुट खेती गर्ने गरिएको छ ।
जुट खेतीको मुख्य समस्या खाडल रहेकोले गत वर्ष मोरङका ३० किसान परिवारलाई जुट प्रवद्र्धन कार्यक्रमअन्तर्गत खाडल खन्न रू. २० हजारका दरले सहयोग गरिएको कार्यालयले बताएको छ । मोरङमा ५ हजार ७० हेक्टर जमिनमा जुटको खेती गरिन्छ । झापामा ५ सय ५० हेक्टर र सुनसरीमा १ हजार ३३२ हेक्टर जमीनमा खेती गरिने कृषि ज्ञान केन्द्रले बताएको छ । नेपालमा उत्तपादित जुट सबै स्वदेशमै खपत हुन्छ ।
नेपालमा भारत र बंलादेशबाट जुट आयत हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।