नियामकीय कडाइले छेकेन घरजग्गा कर्जा विस्तार, एक वर्षमा १८ अर्ब ३२ करोडले बढ्यो
काठमाडौं, १७ भदौ । बैंकहरूले घरजग्गा कर्जामा लगानी विस्तार बढाएका छन् । गत वर्ष घरजग्गाको कारोबार नभएको भने पनि बैंकले भने घरजग्गामा कर्जा विस्तार बढाएका हुन् । नेपाल राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकले २ खर्ब १७ अर्ब ९६ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह गरेका छ । एक वर्षमै वाणिज्य बैंकहरूले घरजग्गा कर्जा थप १८ अर्ब ३२ करोड रुपैयाँले बढाएका हुन् ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरूले कुल १ खर्ब ९९ अर्ब ६४ करोड रुपैयाँ घर जग्गा कर्जामा लगानी गरेका थिए । राष्ट्र बैंकले घर जग्गा क्षेत्रको लगानीमा कडाइ गरेको भए पनि बैंकहरूले घर जग्गा क्षेत्रमा लगानी बढाएको देखिन्छ । राष्ट्र बैंकले अनुत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढेको भन्दै कडाइ गरेको थियो ।
गत वर्ष तरलता अभावमा बैंकहरूले घर जग्गामा लगानी गर्न नसकेको भनिएको थियो । विशेष गरी कित्ताकाट, बैंक तथा वित्तीय संस्थाहरूको तरलता अभाव र ब्याज वृद्धिले नै घर जग्गा कारोबारले गति लिन सकेको थिएन । तर, राष्ट्र बैंकको तथ्यांकले आर्थिक संकट, तरलता अभावका बाबजुद पनि घर जग्गामा बैंकहरूको लगानी भने बढेको देखिन्छ ।
घर जग्गा लगानीमा नेपाल इनभेष्टमेन्ट मेगा बैंकल गत वर्ष २५ अर्ब २७ करोड रुपैयाँ बढी घर जग्गा कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा एनआइएमबिले घर जग्गा कर्जामा लगानी ३५.५६ प्रतिशतले बढाएको हो ।
त्यस्तै नबिल बैंकले पनि यो क्षेत्रमा कर्जा लगानी २७ प्रतिशतले बढाएको छ । गत वर्ष नबिलले २३ अर्ब ३० करोड बढी घर जग्गा कर्जा लगानी गरेको छ । एनआईसी एशियाले भने घर जग्गा कर्जामा २१ अर्ब ९० करोड रुपैयाँ बढी लगानी गरेको देखिन्छ । जुन अघिल्लो आवको तुलनामा धने १३.१८ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १७ अर्ब ३२ करोड ४० लाख, ग्लोबल आइएमईले १५ अर्ब ९९ करोड, प्राइमले १५ अर्ब १७ करोड, हिमालयनले १५ अर्ब ७ करोड रुपैयाँ घर जग्गा कर्जामा लगानी गरेका छन् ।
गत वर्ष प्रभु बैंकले १४ अर्ब २४ करोड, नेपाल बैंकले ११ अर्ब ८६ करोड र लक्ष्मी सइनराज बैङ्कले १० अर्ब ७२ करोड रुपैयाँ लगानी गरेको छ ।