कागजमा बलियो अर्थतन्त्र, आन्तरिक समस्या भने ज्युँका त्युँ
काठमाडौं, ३ असोज । तथ्यांकमा हेरौँ चालु आर्थिक वर्षको पहिलो महिनाको आर्थिक स्थिति
शोधनान्तर स्थिति
३२ अर्ब ९० करोड रुपैयाँ बचत
चालू खाता
१२ अर्ब ३२ करोड रुपैयाँ बचत
विदेशी विनिमय सञ्चिति
१५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ
रेमिट्यान्स आय
१ खर्ब १६ अर्ब रुपैयाँ
निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोत प्रभावकारी बन्न नसकिरहेका बेला लगातार रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने उल्लेख्य सुधार भएको तथ्यांकले देखाउँछ ।
साउनमा एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिएको छ, जुन मासिक गणनामा हालसम्मकै उच्च हो । यसअघि गत चैतमा एक खर्ब नौ अर्ब रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्ष ०७९–८० मा मासिक औसत एक खर्ब एक अर्ब ७१ करोड रेमिट्यान्स भित्रिएको थियो ।
अर्थतन्त्रका बाह्य सूचक बलिया भएपनि आन्तरिक अर्थतन्त्रका समस्या ज्युँकात्युँ छ । आर्थिक गतिविधिमा देखिएको शिथिलता कायमै छ । बैंक तथा वित्तीय संस्थामा ३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । सरकारी खर्च पनि बढ्न सकेको छैन। यो वर्षको २ महिनामा १ खर्ब ३८ अर्ब आय गरे पनि विकास खर्च जम्मा ७७ अर्ब रुपैयाँ मात्र भएको छ । संघीय सरकारले विकास खर्च नबढाउँदा त्यसको सिको प्रदेश र स्थानीय सरकारले गर्ने गरेकाले आर्थिक गतिविधि सुधारमा समस्या आएको अर्थशास्त्री प्रा.डा. शिवराज अधिकारी बताउँछन ।
बाह्य क्षेत्रलाई देखेर रमाएको भएपनि सरकार अर्थतन्त्र सुधारका लागि गम्भिर देखिदैन । स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशरण महत नै मौद्रिक नीति र वित्त नीतिबीच सन्तुलन कायम नहुँदा यो समस्या आएको भन्दै व्यवसायीकै भाषा बोल्दै हिँडेका छन् ।मुलुकको अर्थतन्त्र पोलिसी ट्यापमा परेकाले अब त्यसबाट बाहिर निकाल्ने नीति ल्याउनुपर्ने उहाँको भनाइ छ ।