Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

दुई महिनामा १७ अर्ब ८५ करोडको वैदेशिक लगानी प्रतिवद्धता, साउनमाभन्दा भदौमा न्यून

दुई महिनामा १७ अर्ब ८५ करोडको वैदेशिक लगानी प्रतिवद्धता, साउनमाभन्दा भदौमा न्यून

काठमाडौं, ४ असोज । चालु आर्थिक बर्ष २०८०/८१ को साउन र भदौमा नेपालमा १७ अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा १२३ परियोजनामार्फत १७ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

यस अवधिमा नयाँ १११ परियोजनामार्फत मात्रै १४ अर्ब ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ बराबरको परियोजनामा लगानी प्रतिवद्धता आएको छ । यसै अवधिमा नेपालमै संचालित १२ परियोजनामा भने विदेशी लगानीकर्ताहरुले शेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्क्रिप्सन एग्रिमेन्टमार्फत ३ अर्ब २० करोड २१ लाख रुपैयाँ लगानी भित्त्र्याउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

तर, चालु आवकै साउनको तुलनामा भने भदौमा वैदेशिक लगानी प्रतिवद्धतामा ठूलो गिरावट आएको देखिन्छ । दुई महिनामा आएको कुल पौने १८ अर्ब रुपैयाँ लगानी प्रतिवद्धतामध्ये करिब १३ अर्ब रुपैयाँ साउनमै आएको थियो । भदौमा भने जम्मा ५ अर्ब रुपैयाँ मात्रै लगानी प्रतिवद्धता आएको हो । यसरी हेर्दा भदौमा साउनको तुलनामा १३ अर्ब रुपैयाँ कम विदेशी लगानी प्रतिवद्धता आएको हो ।

पछिल्लो २ महिनामा आएको लगानीमध्ये २ ओटा ठुला, ५ मझौला र १ सय ४ ओटा साना परियोजना नेपालमा दर्ता भएका हुन् । यस्तै यसै अवधिमा आएका विदेशी लगानीका परियोजनामध्ये ५३.४८ प्रतिशत परियोजना पर्यटन क्षेत्रका, ९.८ प्रतिशत परियोजना उत्पादनमुलक क्षेत्रका र सूचना तथा संचार र पूर्वाधार क्षेत्रका समान २.२ प्रतिशत परियोजना दर्ता भएका हुन् । उद्योग विभागका अनुसार साउन र भदौ महिनामा विभागले उक्त अवधिमा ५ सय ४ जना लगानीकर्ता, ५४ जना प्रतिनिधि र १ सय ३४ जना तिनका परिवारहरुलाई व्यवसायीक भिसा स्वीकृत गरेको छ ।

यसै अवधिमा नेपालबाट विदेशी लगानीकर्ताहरुले करिव १ अर्ब ९ करोड रुपैयाँ बढी लगानी फिर्ता लगेका छन् । विभागका अनुसार रोयल्टी र लाभांस गरी उक्त रकम बराबरको लगानी उनीहरुले फिर्ता लिएका हुन् ।

जसअनुसार नेपालमा संचालित विदेशी लगानीका परियोजनाबाट रोयल्टीवापत विदेशी लगानीकर्ताहरुले ६० करोड ६१ लाख ११ हजार नेपाली रुपैयाँ, ३ लाख ६ हजार अमेरिकी डलर र १२ करोड २९ लाख भारतीय रुपैयाँ रोयल्टीका लागि सिफारिस लिएका हुन् । यसै अवधिमा २५ करोड रुपैयाँ बराबरको लाभांशका लागि सिफारिस दिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x