देश बर्बादीतिर धकेलियो, राम्रा काम गरेकै कारण एमाले सबैभन्दा निशानामा पर्यो : अध्यक्ष ओली

काठमाडौं, २९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बादीतर्फ धकेलिएको बताएका छन् । ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने राम्रो काम गरेको कारण एमाले सबैभन्दा बढी निसानामा प-यो ।
ओलीले भने ‘हामी प्रहारको अरूभन्दा बढी निसाना भएका छौं’, ‘किन निसाना भएका छौं ? हामीले नराम्रो काम गरेर होइन । हामीले नराम्रा नीति लिएर होइन ,हाम्रा नीतिहरु राष्ट्र विरोधी भएर हो र ? होइन । हाम्रा नीतिहरू राम्रा भएर ।’ अरुभन्दा बढी निशानामा परियो ।
यस्तै ओलीले देश प्रतिक्रान्तितर्फ गएको समेत बताए। ‘आज देशमा अप्रत्याशित रूपमा प्रतिक्रान्तिको घटना घटेको छ । त्यसबाट प्रतिक्रान्ति तर्फको, यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ ।’
ओलीले ‘यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुद्ध, भ्रष्टाचारमुक्त र विकास उन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अगाडि लानुपर्नेछ’ भन्नेमा जोड दिए ।