आर्थिक मन्दी : कित्ताकाट खुले पनि घरजग्गा कारोबार अझै सुस्त

काठमाडौं, ९ असोज । सरकारले घरजग्गा कारोबार बढाएर अर्थतन्त्रलाई चलायमान गराउन गत साउन अन्तिममा कित्ताकाट खुला गरेको थियो । तर घरजग्गा बजार भने अझै लयमा फर्किएको छैन ।
भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौमा देशभर ३५ हजार ६८६ वटा मात्रै घरजग्गा किनबेच भयो । जबकी साउनमा ३९ हजार २६३ वटा कारोबार भएको थियो । जेठमा ५५ हजार ६९ वटा घरजग्गा किनबेच भएको थियो । तर असारमा यो ४८ हजार ७७१ मा झर्यो भने साउन र भदौमा थप ओरालो लाग्दै गयो । यसले घरजग्गा क्षेत्रको शिथिलता यथावत रहेको देखाउँछ ।
गत वर्षभरि शिथिल भएको घरजग्गा कारोबार यस वर्षको जेठमा सुधार भएपछि व्यवसायी उत्साहित भएका थिए । मुलुकको समग्र अर्थतन्त्र सुधार नभएकाले त्यसको असर यो क्षेत्रमा पनि परेको नेपाल जग्गा तथा आवास महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिए । ५० प्रतिशतमा घटेको यो क्षेत्र लयमा फर्कन अझै केही समय लाग्ने उनले बताए ।
यो क्षेत्रमा आएको शिथिलताले मात्र होइन घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा सरकारी राजस्वमा सिधा असर परेको छ। गत आर्थिक वर्षमा करिब साढे ७ खर्बको घरजग्गाको कारोबार हुँदा ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो ।