तीन महिनाको निर्यात व्यापार– दोब्बरले बढ्यो फलामजन्य उत्पादन
काठमाडौं, १५ कात्तिक । नेपालले आर्थिक वर्ष २०८०/८१ को प्रथम तिन महिनाको अवधिमा फलाम तथा तिनबाट उत्पादन भएका वस्तु सबैभन्दा धेरै निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रु. ४ अर्ब ६१ करोडको फलाम तथा तिनबाट उत्पादन भएका वस्तुको निर्यात गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२ दशमलव ७ प्रतिशतले बढी हो ।
यस्तै प्रमुख वस्तुको दोस्रो स्थानमा धागो रहेको छ । यसको निर्यात गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा ४ दशमलव ७ प्रतिशतले बढेर रु. ३ अर्ब २२ करोड पुगेको छ । धागोपछि तयारी पोशाक रु. २ अर्ब ७० करोडको निर्यात भएको छ । यस्तै रु. २ अर्ब २९ करोडको जुसको निर्यात भएको छ ।
ऊनी तथा गलैंचाको निर्यातमा भने कमी आएको छ । यसको निर्यात ४ दशमलव ५ प्रतिशतले ह्रास आई रु. २ अर्ब ९३ करोडमा झरेको छ । यस्तै निर्यातित वस्तुमध्ये ह्रास हुन आएको प्रमुख वस्तु जुट उत्पादन रहेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यसको निर्यात १३ दशमलव २ प्रतिशतले घटेर रु. १ अर्ब ८४ करोडमा सीमित रहेको छ । साथै पामतेलको निर्यातमा ८३ दशमलव ५ प्रतिशतले ह्रास भई रु. १ अर्ब ३२ करोडमा खुम्चिएको छ ।
नेपालले सबैभन्दा धेरै वस्तु भारतमा निर्यात गरेको छ । सो अवधिमा भारतमा रु. २६ अर्ब २५ करोडको निर्यात भएको छ, जुन गतवर्षको सोही अवधिको तुलनमा ९ दशमलव ४ प्रतिशतले कम हो । नेपालको प्रमुख निर्यात मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, युएई, चीन, फ्रान्स, अष्ट्रेलिया, जापान, इटाली, डेनमार्क, क्यानडा, टर्की र नेदरलेण्ड्स लगायतका मुलुक रहेका छन् ।