सूर्यविनायक–रत्नपार्कमा द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन
काठमाडौं, १० मंसिर । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ ।
आजदेखि पुनः सुरु भएको उक्त सेवा तीन/तीन मिनेटको फरकमा सूर्यविनायकबाट रत्नपार्क बस प्रस्थान गरेका छन् ।
बस सेवा बिहान १०ः३० बजेसम्म र दिउँसो ३ः३० बजेदेखि ५ः३० बजेसम्म सञ्चालनका लागि तालिका बनाइएको महानिर्देशक रिजालले जानकारी दिए ।
उनका अनुसार द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बस थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको छ ।
यात्रुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर गत असोज ३ गतेदेखि उक्त बस सेवा सुरु गरेको थियो । सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।
अन्य सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टा लाग्ने गरेकामा द्रुत बसलाई ४५ मिनेट लाग्ने रिजालले दाबी गरै ।
माइतीघर, कोटेश्वर, जडीबुटीलगायत ट्राफिक जाम बढी हुने चोकमा पनि द्रुत सेवाका बस रोकिन नपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने उनको भनाइ छ ।
रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन् द्रुत बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभाग मीनभवनले जनाएको छ ।