तेस्रोपटक सकारात्मक सर्किटसँगै आजका लागि सेयर कारोबार बन्द
काठमाडौं, २४ मंसिर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा तेस्रोपटक सकारात्मक सर्किट लागेपछि आजको कारोबार बन्द भएको छ ।
परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको हाे ।
आज ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतले बढेपछि पहिलाे सर्किट लागेर २० मिनेटका लागि कारोबार रोकिएको थियो ।एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेकाे हाे ।
आज दुई सय ४४ कम्पनीको १३ लाख ६७ हजार छ सय १५ कित्ता शेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा रू ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ बराबरको कारोबार भएको छ ।