२० औँ हस्तकला व्यापार मेला सम्पन्न, दुई करोड रुपैयाँको कारोबार
काठमाडाैं, ३ पुस । बिहिबार देखि काठमाडौंमा आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाल हस्तकला महासंघका अनुसार मेलामा दुई करोड रुपैयाँको कारोबार भएकाे छ ।
मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएका थिए ।
हस्तकलाका वस्तुका करिब १२० वटा बिक्री तथा प्रदर्शनी कक्ष राखिएका थिए । स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको महासंघले जनाउकाे छ।
नेपालबाट ६० भन्दा बढी देशमा १२ अर्ब मूल्य बराबरको हस्तकला विदेश निर्यात हुने गरेको छ । मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न हस्तकला क्षेत्रको योगदान महत्त्वपूर्ण छ । यस क्षेत्रमा ११ लाख बढी श्रमिक आबद्ध भएका छन् ।