बढेको बजारमा १६ बैंकसहित ७२ कम्पनीको शेयर मूल्य ३०० भन्दा कम (सूचीसहित)
काठमाडौं, ४ पुस । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पछिल्ला दिनमा उच्च अंकले उकालो लागेको छ । नेप्से उकालो लागे पनि धेरै कम्पनीको शेयर मूल्य भने न्यून नै छ । ५२ हप्ताको न्यून मूल्यको तुलनामा शेयर मूल्य केही बढेको भए पनि पछिल्लो ५२ हप्ताको उच्च मूल्यभन्दा कम नै छ ।
केही कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । तर, प्रतिफल दिने कम्पनी कै शेयर मूल्य भने न्यून छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार (पुस ३ गते) कारोबार भएका कम्पनीहरूमध्ये ७२ कम्पनीको शेयर मूल्य ३०० रुपैयाँभन्दा कम छ । जसमा १६ वटा बैंक छन् ।
नेप्सेका अनुसार सबैभन्दा दुई वटा विकास बैंक छन भने बाँकी १४ वटा वाणिज्य बैंक छन् । वाणिज्य बैंकहरूमा पनि सबैभन्दा सस्तो शेयर मूल्य कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स, ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंकको छ ।
कुमारी बैंकको शेयर मूल्य १६८ रुपैयाँ छ । यो बैंकको शेयर मूल्य वाणिज्य बैंकहरूकै सस्तो हो । यो बैंकको शेयर मूल्य पछिल्लो ५२ हप्तामा सबैभन्दा उच्च २११ रुपैयाँ ६० पैसासम्म पुगेको थियो भने न्यून मूूल्य १४८ रुपैयाँ २० पैसामा झरेको थियो ।
त्यस्तै प्राइम कमर्सियल, लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकको शेयर मूल्य भने २०० रुपैयाँको आसपासमा छ ।
३०० भन्दा कम शेयर मूल्य हुनेमा अधिकांश हाइड्रोपावर कम्पनी छन् । हाइड्रोमा पनि हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य १५३ रुपैयाँ छ । यो कम्पनीको पछिल्लो ५२ हप्ताको उच्च मूल्य २६४ रुपैयाँ थियो ।
मंगलबार नेप्से करिब ४६ अंक बढेर बन्द भएको छ । उक्त दिन ५ अर्ब ९८ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सो दिन १८३ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ५३ को शेयर मूल्य घटेको छ ।