१२ वर्षमा १२ खर्ब ५० अर्बको लगानी स्वीकृत
काठमाडौं, २१ पौष । ठुला पूर्वाधार र उत्पादन परियोजनामा लगानी प्रवर्द्धन गर्ने उद्धेश्यले स्थापित लगानी बोर्डले पछिल्लो १२ वर्षमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। उक्त लगानी ऊर्जा क्षेत्रका २८ र गैरऊर्जा क्षेत्रका १४ गरी कूल ४२ परियोजनाका लागि आएको हो । हालसम्म बोर्डमार्फत् पाँच खर्ब २५ अर्ब बराबरको लगानी परिचालन भएको छ ।
यस्तै उद्योग विभाग मार्फत गत आर्थिक वर्ष ३२७ वटा उद्योगमा ३८ अर्ब ४० करोड ७५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आयो । विभागका अनुसार २९७ वटा साना, २५ वटा मझौला र ५ वटा ठूलो उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको हो । ३८ अर्बको लगानी प्रतिबद्धता आएकामा ७ अर्ब रुपैयाँ मात्र रकम भित्रियो । प्रतिवद्धता अनुसार कुनै पनि वर्ष लगानी भित्रन सकेको छैन । तर सरकार भने लगानी आकर्षित गर्न सम्मेलनको तयारीमा छ ।
सरकारले लगानी प्रवर्द्धन गर्ने बताए पनि लगानीमैत्री सरकारी नीतिको अभावमा आन्तरिक एवम् बाह्य लगानीकर्ताहरु त्रसित छन् । अस्थिर सरकार र नीति लगानीको मुख्य बाधक रहेको निजी क्षेत्रको ठहर छ ।
आर्थिक वर्ष २०७५–०७६ मा २५ अर्बको लगानी प्रतिवद्धतामा १३ अर्ब रुपैयाँ मात्रै भित्रियो । २०७६–०७७ मा ३७ अर्बको प्रतिवद्धतामा १९ अर्ब भित्रियो भने २०७७–०७८ मा ३२ अर्बको प्रतिवद्धामा १९ अर्ब रुपैयाँ मात्र भित्रिएको थियो ।
यस्तै आर्थिक वर्ष २०७८–०७९ मा ५३ अर्बको प्रतिवद्धता आएको थियो तर १८ अर्ब मात्र भित्रियो । नीति तथा संस्थागत सुधार नहुँदा विदेशी लगानी भित्रनुको साटो घट्दै गएको देखिन्छ । मुलुकभित्रको नीतिगत र संस्थागत सुधार हुन नसक्दा लगानीको वातावरण केबल गफमा मात्र सिमिति हुनेछ ।