२१ दिन पछि जाेडियाे २३ उद्योगमा बिजुली
काठमाडौं, २८ पौष । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल नबुझाएको भन्दै लाइन काटिएका उद्योगहरुको लाइन जडान गरिदिएको छ । डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन प्राधिकरणको सञ्चालक समितिको हिजो बिहान बसेको बैठकले जडान गर्ने निर्णय गरेको हो।
सोहि अनुसार प्राधिकरणले हिजो नै लाइन जोडिदिएको हो । मन्त्रिपरिषद्को मंगलबारको बैठकले लाइन जोड्न निर्देशन दिएको थियो। तर त्यसको भोलिपल्ट बसेको प्राधिकरणको सञ्चालक समितिले भने पत्र नआएको भन्दै लाइन जोड्ने निर्णय गर्न अस्वीकार गरेको थियो।
प्राधिकरणले पुस ६ गते यता २४ उद्योगको लाइन काटेको थियो। तीमध्ये एउटा उद्योगको भने किस्ता तिरेपछि यसअघि नै जडान गरिएको थियो। प्राधिकरण बोर्डको निर्णयसँगै अब बाँकी रहेका २३ उद्योगको पनि लाइन जोडिदिएको हो । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पुस ६ गते लाइन काटेको थियो ।
सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। उद्योगीहरुको २२ अर्ब रुपैयाँ भन्दा बढी महसुल तिर्न बाँकी छ ।