Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फागुन ५ र ६ मा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने

फागुन ५ र ६ मा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने

काठमाडाैं, ३ फागुन । “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने नाराका साथ यहि फागुन ५ र ६ गते चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आयोजना हुने भएकाे छ ।  स्वावलम्बन विकास केन्द्र र नेपाल आर्थिक पत्रकार समाज(सेजन)को संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेकाे हाे ।

सम्मेलन मुख्यरुपमा लघुवित्त सेवालाई स्वस्च्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रकोरुपमा अगाडी बढाउने उपायहरु खोज्न केन्द्रित हुने बताइएकाे छ।यसको साथै सम्मेलनले हरेक लघुवित्त संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने तर्फ विशेष जोड दिने काठमाडाैंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे ।

हाल देखा परेका समस्या र चुनौतिको लेखाजोखा गरी लघुवित्त क्षेत्रलाई समय सापेक्ष बनाउन ठोस कार्य गर्नु पर्ने समय आएको छ । यसको लागि नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त गर्ने संस्थाका नेतृत्ववर्ग, सञ्चालक, जनताको घरदैलोमा सेवारत लघुवित्तकर्मी, सेवा ग्राही सदस्य, जनप्रतिनिधि लगायत सबै सरोकारवालाहरु एकै थलोमा बसेर आ-आफ्ना भोगाई, सिकाई, अनुभव र ज्ञानहरुको आदान प्रदान र विचारहरुको मन्थन गर्नु जरुरी रहेकाे भन्दै सम्मेलन गर्न लागिएकाे छ ।

यसअघि “उद्यमशीलताको विकास, गरिबी निवारणको निकास” नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा, “स्वच्छलघुवित्त, हाम्रो अभियान” नाराका साथ दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ सालमा र “घरघरमा उद्यम फैलाऊँ, गरिबीलाई शून्य बनाऊँ” भन्ने नाराका साथ तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७८ सालमा सम्पन्न भएका थिए ।

सम्मेलनले विशेषतः लघुवित्त गर्ने संस्थाहरुलाई आफ्नो कार्य क्षेत्रमा रहेका गाउँ वा समुदायलाई सजग र सचेत बनाई स्थानीय स्तरमा उपलब्ध प्राकृतिक, मानवीय तथा साँस्कृतिक श्रोतको जगेर्ना र समुचित परिचालन गरी आम्दानी बढाउन ती गाउँ वा समुदायलाई वातावरणमैत्री स्वावलम्बन गाउँको रुपमा विकास गर्दै लैजाने विषयमा पनि छलफल गर्नेछ ।

यस सम्मेलनले तय गरेको “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने नारा सार्थक बनाउन लघुवित्तमा हाल देखा परेका समस्या र त्यसको निकासबारे छलफल गरिने छ । लघुवित्तका प्रवर्द्धक, सञ्चालक, व्यवस्थापक, कर्मचारी, नीतिगत तथा नियामक निकायका प्रतिनिधिहरु एकै ठाउँमा भेला भएर लघुवित्त क्षेत्रका कमी कमजोरीहरु बारे समीक्षा गर्ने छन् । लघुवित्त क्षेत्रमा देखिएका विकृति, विसंगति र विचलनहरुलाई नियन्त्रण गरी लघुवित्त सेवालाई अझ स्वच्छ, स्वस्थ र सदस्यमुखी, गरीब तथा विपन्नमैत्री र दिगो बनाउन संस्थागत एवं कार्यगत शुद्धिकरण र सवलीकरणको उपायहरु पहिल्याउन, लक्षित वर्गको विकासको नयाँ सम्भावनाहरु खोजबिन गर्न र आगामी दुई वर्षमा सम्पन्न गर्ने गरी मार्गचित्र तय गर्ने छ ।

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५०८२ शाखाहरु मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले रु.४३२ अरब भन्दा वढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x