स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि सम्बन्धमा स्टार्टअप एण्ड ईन्नोभेशन फोरमद्वारा छलफल
काठमाडाैं, ३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधिका विषयमा वृहत छलफल गरेकाे छ । छलफल कार्यक्रममा स्टार्टअप परियोजना कर्जाका विषयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले स्टार्टअप कर्जाका विषयमा आएका सबै जिज्ञासाहरुलाई स्पष्ट पारे ।
उनले छलफलमा सहुलियत कर्जा लिएका स्टार्टअप, नवउद्यमी, लघु तथा साना उद्योगीहरुले पुन प्रस्ताव पेश गर्न पाउने वा नपाउने, आमा बुवाको नाममा दर्ता भएको तर छोराछोरीले संचालन गरेको हकमा के हुने, शैक्षिक संस्था, होस्टेल र सबसिडरी उद्यम यसको दायरामा पर्ने नपर्ने, प्यान भ्याटमा दर्ता हुन पर्ने नपर्ने लगायत सम्पूर्ण कुराकाे जानकारी दिनुभयाे ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सुरकृष्ण वैधले प्रदेश, जिल्ला र स्थानीयस्तरसम्म यस्ता छलफल चलाउनु पर्नेमा जोड दिनुु भयो । स्थानीयतहसम्म यस्ता विषयमा सुुचित गराउन सकियो भने स्टार्टअप नव उद्यम विस्तार हुन सहयोग पुुग्ने र सरकारले आव्हान गरेको स्टार्टअप उद्यम कर्जा आव्हानमा आम सहभागिता बढ्ने उनकाे भनाइ छ ।
यस्तै महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठले स्टार्टअप फोरमको निरन्तर प्रयासका कारण स्टार्टअप उद्यम कर्जा परियोजनाले सार्थकता पाउनेमा महासंघ विश्वस्त रहेको बताइन् ।
महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरमका सभापती जुना माथेमाले महासंघले स्टार्टअप नेशनल सन्जाल बनाएको र त्यसबाट पनि सदस्यहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्ने काम भैरहेको जानकारी गराउँदै यो कार्यक्रम, परियोजना कर्जा लिई स्टार्टअपलाई अगाडि बढाउन यूवा उद्यमीहरुका लाभदायी भएको विश्वास प्रकट गरिन् ।
प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट संचालन गरिएको कायक्रमकमा महासंघका कार्यकारीणी सदस्य, स्टार्टअप, नवउद्यमी, साना तथा लघु उद्यमी, आदि गरी करिव १ सय जनाको सहभागिता रहेको थियो ।
महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले स्टार्टअपका विषयमा निरन्तर काम गरिरहेको छ । फोरमले, स्टार्टअपमा लागेका र नयां व्यवसाय थालनी गर्ने योजना बनाएकाहरुबाट निरन्तर यस विषयमा छलफल गर्न आग्रह र जिज्ञासा आएपछि कार्यक्रमको आयोजना गरिएको हो ।