घट्यो मूल्यवृद्धि, माघको मुद्रास्फीति ५ दशमलव शून्य १ प्रतिशत कायम
काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्षको माघ महिनामा उपभोक्ता मुद्रास्फीति घटेर ५ दशमलव शून्य १ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ महिनामा उक्त बिन्दुगत उपभोक्ता मुद्रास्फीति कायम भएको हो ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३२ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव शून्य ६ प्रतिशत र तरकारीको ७ दशमलव ५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ३३ प्रतिशतले घटेको बैंकले जनाएको छ ।
समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२ दशमलव ६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९ दशमलव १५ प्रतिशत र शिक्षाको ७ दशमलव ३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १ दशमलव ४१ प्रतिशतले घटेको छ ।
चालु आवको माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ९६ प्रतिशत, तराईको ४ दशमलव ७१ प्रतिशत, पहाडको ५ दशमलव ५८ प्रतिशत र हिमालको ५ दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८ दशमलव ४७ प्रतिशत, ७ दशमलव ८२ प्रतिशत, ७ दशमलव ३० प्रतिशत र ७ दशमलव ९२ प्रतिशत रहेको बैंकको भनाई छ ।