निजी क्षेत्र समृद्धिका बाहक हुन्ः पूर्वअर्थमन्त्री डा.महत
काठमाडौं, २८ चैत । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र रोजगारी सिर्जना, आम्दानी वृद्धि र समृद्धिको बाहक हो भन्ने कुरामा कांग्रेस कहिले पनि दुविधामा नरहेको स्पष्ट पारेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
डा. महतले भने, ‘नेपाली कांग्रेसले निजी क्षेत्रको महत्वलाई बुझ्दछ, ०४६ सालको परिवर्तनसँगै जुन आर्थिक वृद्धिको श्रृङ्खला अगाडि बढ्यो, त्यसमा नेपाली कांग्रेसले लिएको नीति महत्वपूर्ण हो ।’
निजी क्षेत्रमा सक्रिय सहभागिता र राज्यको तर्फबाट समर्थन, सहयोग गर्ने कांग्रेसको नीति रहेको उनले बताए । त्यसले नेपालको आर्थिक वृद्धिलाई अर्को स्तरमा पुर्याएको महतले दावी गरे । उनले भने, ‘नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको टोकन सहभागिता थियो, खास गरेर आयात निर्यातमा मात्र सीमित भएको निजी क्षेत्रको सहभागितालाई विस्तार गर्यो ।’
पूर्वमन्त्री डा.महतले भने, ‘पछिल्लो चरणमा म अर्थमन्त्री भएँ, पहिलो चरणको सुधार ०४६ पछि प्रारम्भ भएको हो । दोस्रो चरणको सुधार प्रारम्भ गर्ने काम हामीले गर्यौं, यसमा निरन्तर निजी क्षेत्रको सुझाव, सल्लाह र सहभागितालाई उच्च महत्व दिएको कुरा तीनवटै उद्योग व्यवसायीको छाता संगठनका साथीहरुलाई राम्रोसँग थाहा छ ।’
‘यी कुरालाई मूलमन्त्र बनाएर हामी पछिल्लो गठबन्धन सरकारमा सक्रिय भएका हौं । नेपालमा लगानी पठाउनका लागि तीनवटै निजी क्षेत्रको संगठनलाई सदस्य बनाएर के–कस्ता अप्ठ्यारा छन्, के कस्ता सुधारका आवश्यकता छ, कहाँ झन्झट र अप्ठ्यारो निजी क्षेत्रले महसुस गरेको छ रु भन्ने कुरालाई मध्यनजर गरेर उहाँहरुलाई हस्ताक्षर गराएर अर्थमन्त्रालयको तहबाट मन्त्रिपरिषद्मा पुर्याएको हो,’ उनले भने, ‘त्यही कुरालाई कानुनी रुप दिएर लगानी सम्मेलनमा थप ऊर्जा प्रदान गर्ने हाम्रो लक्ष्य थियो । बजेटलाई हामीले सिस्टममा ल्याउँदैछौं ।’