ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट
काठमाडौं, ११ वैशाख । ह्वाइट लोटस पावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी पुँजीको २६ प्रतिशतले हुन आउने १२ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको जनाएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त भएको बताइएको छ ।
आइपिओ निष्कासन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका कार्यकारी निर्देशक सुमनकुमारी जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले लमजुङमा ६.८२ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।