सोह्रौं आवधिक योजनाः आर्थिक वृद्धिदर ७.३ प्रतिशत र जीडीपी १०३ खर्ब पुर्याउने लक्ष्य
काठमाडौं, २ जेठ । १६ औं पञ्चवर्षिय आवधिक योजनाले आगामी पाँच वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखेकाे छ । बुधबार राष्ट्रिय योजना आयोगले सोह्रौँ योजनाको लक्ष्य सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्याउने लक्ष्य रहेकाे बताएकाे हाे ।
आगामी आर्थिक वर्ष २०८१/८२ मा ६ प्रतिशत, २०८२/८३ मा ६.६, २०८३/८४ मा ७.४, २०८४/८५ मा ७.९ र २०८५/८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने साेह्राैँ याेजनामा उल्लेख छ ।
योजना आयोगका सहसचिव यमलाल भुसालले प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्याउने लक्ष्य रहेको बताए ।नेपालमा गरिबीको रेखामुनी रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.२७ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने सार्वजनिक सोह्रौं योजनामा उल्लेख गरीएकाे छ ।
यस्तै योजनामा आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ भन्दा माथि पुर्याउने लक्ष्य राखेको छ । पञ्चवर्षिय योजनामा २०८०/०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५/८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको सहसचिव भुसालले जानकारी दिए ।
यस्तै सोह्रौं योजनाले नेपालीकाे औषत आयु ७३ वर्ष पुर्याउने, साक्षरता ८५ प्रतिशत पुर्याउने, बेरोजगारी दर ५ प्रतिशतमा झार्ने, मुद्रास्फीति ५ प्रतिशतकाे सिमा भित्र राख्ने, विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत पहुँच शतप्रतिशत जनसंख्यामा पुर्याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य राखेकाे छ ।
त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्याउने लक्ष्य योजनाले राखेको छ ।