११ महिनामा कुल ४४ अर्ब ४० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रियाे
काठमाडाैं, ४ असार । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ ।
यो गत आव २०७९/८० को यसै अवधिको तुलनामा १० अर्ब भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।
विभागका अनुसार जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।
यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।
यस्तै सरकारले वैदेशिक लगानी भित्र्याउन चालु आवबाटै सञ्चालनमा ल्याएकाे अटोमेटिक रुटबाट जेठसम्म ११ अर्ब ८१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ ।