एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थी मात्र उत्तीर्ण
काठमाडाैं, १३ असार । गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान सार्वजनिक गरेको हाे ।
नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् भने ५२ प्रतिशतले परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । एक वा दुई विषयमा ‘ननग्रेड’ ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।
योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।निर्देशिका अनुसार सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र विद्यालयले गर्ने आन्तरिक मूल्यांकनमा कम्तीमा ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था छ । नतिजामा सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको अंकलाई छुट्टाछुट्टै ग्रेडिङ गरिएको छ ।
नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ४४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।