उद्यम कर्जाका लागि शुक्रबारसम्म ७७ स्टार्टअपको प्रस्ताव
काठमाडाैं, १६ भदाै । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन आह्वान गरेसँगै कर्जाका लागि ७७ प्रस्ताव परेका छन् । शुक्रबारसम्म ७७ वटा प्रस्ताव परेको प्रतिष्ठानले जनाएकाे हाे ।
स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१ अनुसार योग्यता पूरा गरेका उद्यमीहरूले परियोजना प्रस्ताव पेस गर्न सक्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत साउन ३० मा कार्यविधि स्वीकृत गरेको थियो ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीहरूले सूचना जारी गरेको २१ दिनभित्र कार्यविधिको अनुसूची–३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ । उद्यमीहरू प्रतिष्ठानको कार्यालयमा गई र प्रतिष्ठानको वेबसाइटमार्फत पनि ‘अनलाइन’ बाट परियोजना प्रस्ताव पेस गर्न सकिनेछ ।
छानिएका स्टार्टअपले तीन प्रतिशत ब्याजदरमा न्यूनतम पाँच लाख रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । यो कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ भने पहिलो किस्ता लिएको एक वर्षपछि साँवा वा ब्याजबापतको रकम फिर्ता गर्न सुरु गर्नुपर्ने कार्यविधिमा छ ।