Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

८२ प्रतिशतले बढ्यो सरकारको पूँजीगत खर्च

८२ प्रतिशतले बढ्यो सरकारको पूँजीगत खर्च

काठमाडौं, ७ असोज । गत वर्षको तुलनामा सरकारको पूँजीगत खर्चमा सुधार आएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा सरकारको पूँजीगत खर्च १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८२ दशमलव ४३ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा पूँजीगततर्फ ८ अर्ब १६ करोड ३९ लाख मात्र खर्च भएको थियो ।

सरकारले यस वर्ष पूँजीगत खर्चतर्फ छुट्याइएको वार्षिक बजेट विनियोजनको ४ दशमलव २३ प्रतिशत खर्च गरेको छ । चालू आवका लागि सरकारले पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गत आवको २ महिनामा सरकारले यस्तो खर्च वार्षिक बजेट विनियोजनको २।७ प्रतिशत मात्र गरेको थियो । सो वर्षका लागि सरकारले ३ खर्ब २ अर्ब ७ करोड बजेट विनियोजन गरेको थियो ।

सरकारको यस वर्षको चालू खर्च भने घटेको छ । चालू आवको पहिलो दुई महिनामा सरकारले चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ, जुन गत आवको भदौको तुलनामा ५ दशमलव ३३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा सरकारले चालूगत तर्फ ८७ अर्ब ६६ करोड ३५ लाख खर्च गरेको थियो ।

चालू वर्षको ११ खर्ब ४० अर्ब ६६ करोडको लक्ष्य रहेको चालूगत खर्चमध्ये २ महिनामा ७ दशमलव २८ प्रतिशत खर्च भएको छ । गत वर्ष यस्तो खर्च ७ दशमलव ६८ प्रतिशत अर्थात ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ थियो । सो वर्षका लािग चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड बजेट विनियोजन गरेको थियो ।

भदौसम्ममा सरकारले वित्तीय व्यवस्थापनतर्फ वार्षिक बजेट विनियोजनको १० दशमलव ८ प्रतिशत प्रतिशत खर्च गरेको छ । यस वर्षका लागि वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको सरकारले भदौ मसान्तसम्ममा ३९ अर्ब ६७ करोड २२ लाख खर्च गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x