Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः ढकाल

नेपालको पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छः ढकाल

काठमाडौँ,७ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्दै पर्यटन पूर्वाधारमा थप लगानीको आवश्यकता रहेको बताएका छन् ।

सोमबार बैंककमा आयोजित ३७औं एशियन ट्रेड प्रमोशन फोरममा बोल्दै ढकालले विदेशी लगानीकर्ताहरुलाई होटल, थीम पार्क र साहसिक पर्यटन गन्तव्यहरू जस्ता क्षेत्रमा सम्भावनाहरु रहेको बताएका हुन् ।

उनले नेपालमा रिसोर्टहरूको बढ्दो मागको चर्चा गर्दै यस क्षेत्रमा साझेदारीको अवसर रहेको पनि बताए ।

ढकालले नेपालको सूचना तथा सञ्चार प्रविधि र चलचित्र उद्योगमा लगानीका अवसरहरु रहेको कुरामा पनि जोड दिए । ढकालले हस्तकलाका उत्पादनहरू, संगीत, चलचित्र र डिजिटल कला जस्ता क्षेत्रहरूमा उल्लेखनीय वृद्धि भएको, र यसले आर्थिक विकासमा मात्र नभई नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा पनि योगदान पुर्याएको कुरा जानकारी गराए ।

नेपालको सूचना तथा सञ्चार प्रविधि उद्योगमा रहेको अवसरहरूको चर्चा गर्दै ढकालले देशको युवा र ऊर्जावान जनसंख्याले यो क्षेत्रमा योगदान गरिरहेको बताए । तर, यस क्षेत्रको पूर्ण क्षमता उपयोग गर्न साना तथा मझौला उद्योगहरुका लागि वित्तीय पहुँच, क्षमता निर्माण र बजार पहुँचको खाँचो रहेको उनले जानकारी दिए ।

ढकालले नेपालको जलविद्युत क्षेत्रको बढ्दो सम्भावनाको पनि चर्चा गरेका छन् । भारतले आगामी दस वर्षमा नेपालबाट १०,००० मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको र बंगलादेशमा देखिएका नयाँ अवसरहरू पनि उनले उल्लेख गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x