Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

खाद्य प्रविधिले बढायो चाडपर्व लक्षित बजार अनुगमन

खाद्य प्रविधिले बढायो चाडपर्व लक्षित बजार अनुगमन

काठमाडौँ, ११ असोज । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित बजार अनुगमन बढाएको छ । दशैं, तिहार जस्ता चाडपर्व नजिकिएसँगै विभागले खाद्यपदार्थको अनुगमन सक्रिय बनाएको हो ।

विभागको दुईवटा टोलीले बिहीबार मात्रै काठमाडौँ उपत्यकाका नौ स्थानमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एयरपोर्ट बर्गर हाउस एण्ड थकाली किचेन प्रालिमा उपभोग्य मिति समाप्त भएको पाँच सय ग्रामका छ थान कोदोको पिठो र तोकिएको गुणस्तरभन्दा फरक पर्ने तेल नष्ट गरिएको विभागले बताएको छ । उक्त पसललाई देखिएका कमजोरी सुधार गरी सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्राप्ति फुड प्रडक्ट्स सिनामङ्गल–९ काठमाडौँमा बिक्री वितरणमा राखिएको घ्यूको गुणस्तरमा शङ्का लागेपछि बिक्री बन्द गरी परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । सो पसलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सङ्कलित घ्यूको नमूनाको विश्लेषण प्रतिवेदन न्यूनस्तरको पाइएको छ । सो घ्यू जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको र सञ्चालकलाई सो सम्बन्धमा विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
टिथ्री थकाली समूह सिनामङ्गल–९ काठमाडौँमा स्थलगत निरीक्षणका क्रममा भेटिएका उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ नष्ट गरिएको छ । कमी–कमजोरीसम्बन्धी थप जानकारीका लागि सञ्चालकलाई सात दिनभित्र दर्ता प्रमाणपत्रसहित विभागमा उपस्थित हुन विभागले निर्देशन दिएको छ ।

बेकर्स बेकरी उद्योग काठमाडौँ महानगरपालिका–३१ बानेश्वरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गरी तीन दिनभित्र विभागमा उपस्थित हुन पनि विभागले निर्देशन दिएको छ । कोलकाता स्वीट्स प्रालि, कामनपा–३१ बानेश्वर, काठमाडौँमा फ्रिजमा भेटिएको बिनालेबलका ढुसी परेको एक केजीको १५ प्याकेट खुवा नष्ट गरिएको थियो । बिनालेबल विवरणका खाद्य पदार्थको बिक्री वितरण नगर्न पनि विभागले सो पसललाई निर्देशन दिएको जनाइएको छ ।

मिठोमसिनो थकाली रेस्टुरेन्ट प्रालि मध्यपुरथिमि नपा–१, भक्तपुरलाई फ्रिजमा खाद्य पदार्थ लेबल लगाएर व्यवस्थित तवरले भण्डारण गर्न निर्देशन दिइएको छ । चिल हाउस प्रालि मध्यपुरथिमि नपा–२, भक्तपुरमा लेबल विवरण नभएका खाद्य पदार्थ फिर्ता गर्न र पूर्ण लेबल विवरण नभएका खाद्य पदार्थ प्रयोग नगर्न निर्देशन दिएको विभागले जनाएको छ ।

सिफान स्टोर, मध्यपुरथिमि नपा–१, भक्तपुरमा म्याद गुज्रेका खाद्य पदार्थ नष्ट गरी कमीकमजोरी सुधार्न निर्देशन दिइएको छ । जय माँ दुर्गा किराना पसल मध्यपुरथिमि नपा–१, भक्तपुरमा निरीक्षणका क्रममा देखिएका कमजोरी सुधार गर्न निर्देशन दिएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x